६३४ जना सहसचिवलाई समायोजनपत्र दिने

लुम्बिनी पत्रकाठमाडौँ, माघ १९ गते । सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजन गर्ने क्रममा ६३४ जना सहसचिवलाई समायोजनपत्र दिने तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई समायोजनको पत्र दिने प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेपछि सहसचिवलाई सरकारले पत्र प्रदान गर्दै जाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गत साता सरकारले ५६ जना सचिवलाई मन्त्रिपरिषद्बाट निर्णय गरी समायोजनको पत्र प्रदान गरिसकेको छ । सचिवहरूको समायोजन सङ्घमा नै हुने व्यवस्था भए पनि सरकारले निर्णय गरी समायोजनको पत्र दिने अध्यादेशमा उल्लेख गरिएको छ । सहसचिवको समायोजन स्थानीय तह अन्तर्गत महानगरपालिका र उपमहानगरपालिका , प्रदेशअन्तर्गत प्रदेश मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारका कार्यलयमा त्यस्तै सङ्घ अन्तर्गत मन्त्रालय, विभाग जिल्लास्थित विषयगत कार्यालयमा समायोजनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सहसचिवको समायोजन प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि अहिले उपसचिवको निवेदनलाई रुजु गर्ने काम भइरहेको छ । अब दुई दिनभित्र उपसचिवको निवेदनको रुजु भइसक्ने त्यसपछि उहाँहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै समायोजनको पत्र प्रदान गर्ने व्यवस्था छ । फागुनको पहिलो हप्ताभित्र उपसचिव, शाखा अधिकृत र नायव सुब्बालाई क्रमिक रूपमा समायोजनका पत्र प्रदान गर्दै जाने गरी मन्त्रालयले निरन्तर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । सरकारले पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी कर्मचारीलाई समायोजनमा जान निवेदन दिने समयावधि तोकेको थियो । सो अवधिमा समायोजनका लागि ७७ हजार ३७४ जना कर्मचारीले आवेदन दिइएका थिए । मन्त्रालले समायोजनका लागि १२ वटा टोली निर्माण गरी कर्मचारीको पद, सेवा, समूह र उपसमूह अनुसार अध्यावधिक गर्ने र ज्येष्ठता एकिन गर्ने काम गरिहरेको छ । मन्त्रालयले समायोजन प्रणालीमा आबद्ध गर्न सहजीकरणका लागि सम्बन्धित सेवा, समूह र उपसमूहमा कार्यरत कर्मचारीको विभागीय कारबाही भए नभएको विवरण एकीन गर्ने काम निरन्तर गरिरहेका प्रवक्ता अधिकारीले बताउनुभयो ।गोरखापत्र 

Comments