Skip to main content
भेरी अञ्चल अस्पतालमा सिकलसेल परीक्षण निःशुल्क
पी सी एन् / लुम्बिनी पत्र
गुलरिया, साउन ११। जिल्ला जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा भेरी अञ्चल अस्पताल नेपालगञ्जले सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ । जनस्वास्थ्यले इलेक्ट्रोफ्रोसिस जाँच गर्ने केमिकल उपलब्ध गराएपछि जाँच सेवा निःशुल्क गरिएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा. प्रकाशबहादुर थापाले बताए ।
एक लाख रुपैयाँबराबरको निःशुल्क उपचार सेवा दिँदै आएको भेरी अञ्चल अस्पतालले बुधबारदेखि सिकलसेल जाँच सेवा पनि निःशुल्क गरेको हो । यस अघि अस्पतालले सिकलसेल परीक्षण गर्न हजार र निजी प्याथोलोजीले प्रतिव्यक्ति दुई हजार रुपैयाँ लिँदै आएका थिए ।
बिरामीको स्वास्थ्यलाई ख्याल गरेर सिकलसेल एनिमिया जाँच निःशुल्क गरिएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले बताए । विशेषगरी थारू समुदायमा मात्र देखिएको सिकलसेल एनिमियाका कारण बिरामीको आर्थिक अवस्था दयनीय बन्दै गएकाले उपचार र परीक्षण निःशुल्क गरिएको उनको भनाइ छ ।
जनस्वास्थ्यले प्रदान गरेको केमिकल तीन महिना मात्र पुग्ने भएकाले त्यसपछि सिकलसेलको परीक्षणमा अप्ठेरो पर्ने भएको छ । जनस्वास्थ्यले दिएको केमिकल छँदासम्म निःशुल्क हुन्छ, त्यसपछि भन्न सकिन्न, उनले भने, अस्पतालको रकमबाट सधैँभरि निःशुल्क सेवा दिन सक्ने अवस्था छैन । उनले स्थानीय निकायसँग केमिकल खरिदका लागि रकम माग गर्ने बताए । सिकलसेल एनिमिया देखिएका स्थानका स्थानीय निकायले आर्थिक सहयोग गरे मात्र निःशुल्क रगत जाँचलाई निरन्तरता दिन सकिनेछ ः सुपरिटेण्डेण्ट थापाले भने ।
सिकलसेल जाँच निःशुल्क गरेपछि थारू समुदायमा खुसियाली छाएको बार बर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए । सिकलसेल जाँच गराउन नसकेर ज्यान जोखिममा परेका बिरामीका लागि अस्पतालले ठूलो राहत दिएकोमा अस्पताललाई उनले धन्यवाद दिदै सुरु गरेको सेवालाई निरन्तरता दिनुपर्ने बताए । उनले सिकलसेल जाँच अभियानलाई गाउँ–गाउँसम्म पु¥याउन आवश्यक रहेको बताए । जबसम्म गाउँ–गाउँमा गएर परीक्षण गरिँदैन तबसम्म सिकलसेल एनिमियाको मारमा थारू समुदाय परिरहने उनको भनाइ छ ।
भेरी अञ्चल अस्पतालमा रगत जाँच गराएका सात सय ९७ मध्ये दुई सय ७० जनामा सिकलसेल एनिमियाको संक्रमण फेला परेको छ । रगत जाँच गराएकालाई थाल्सिमिया, सिकलसेल तथा विटा थाल्सिमिया र इ–ट्रेट युथ विटा थाल्सिमिया फेला परेको भेरी अञ्चल अस्पतालका प्रयोगशाला प्रमुख प्रदीप ओलीले बताए । ओलीका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा ६९ जनामा थाल्सिमिया र केहीमा सिकलसेल तथा विटा थाल्सिमिया र केहीलाई इ–ट्रेट युथ विटा थाल्सिमिया देखिएको छ । भेरी अस्पतालमा बाँके, दाङ, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका बिरामीले रगत परीक्षण गराएको अस्पतालको रेकर्डमा उल्लेख छ । जाँच गराउनेमा सबैभन्दा धेरै बर्दिया, दाङ र कैलालीका छन् ः ओलीले भने ।
भेरी अञ्चल अस्पतालको प्राविधिक सहयोगमा कोहलपुर नगरपालिकाले सञ्चालन गरेको सिकलसेल एनिमिया जाँच शिविरमा ११ प्रतिशतमा सिकलसेल एनिमिया फेला परेको थियो । विद्यालयमा गरिएको परीक्षणमा ११ प्रतिशत बालबालिकामा सिकलसेल फेला परेको कोहलपुर नगरपालिकाका उपमेयर सञ्जकुमारी चौधरीले बताइन् । उनका अनुसार एक हजार ३५० विद्यार्थीको सिकलसेल जाँच गरिएको थियो । तीमध्ये एक सय ५२ जनामा सिकलसेल एनिमिया फेला परेको थियो ।
त्यसैगरी बाँसगढी नगरपालिकाका थारू समुदायमा सिकलसेल परीक्षण गर्दा १० प्रतिशत र बार बर्दिया नगरपालिकामा परीक्षण गर्दा २४ प्रतिशतमा सिकलसेल फेला परेको छ ।
Comments
Post a Comment