गर्मीका कारण दाङका निजी विद्यालयहरु चारदिनका लागि बन्द

पी सी एन।२०जेठ । बढ्दो गर्मीका कारण  विभिन्न रोगको संक्रमण देखापरि बिद्यालयमा बिद्यार्थीको उपस्थिति न्यून भएपछि दाङका निजी विद्यालयहरु मंगलबारदेखि शनिवारसम्मका लागि बन्द गरिएका छन्। बन्द गरिएका बिद्यालय आईतवार खुल्ने भएका छन्। 
प्याव्सन र एनप्याव्सनले संयुक्त रुपमा नीजि विद्यालय बन्द गरिएको जानकारी गराएका छन्। पछिल्ला केहि दिन यता दाङमा अत्यधिक गर्मी बढेको छ । सोमवार मात्रै दाङको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो भने मंगलवार बढेर ३८.७ डिग्री सेल्सीयस पुगेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीले जनाएको छ। यस अघि जेठ ९ मा दाङको तापक्रम सवै भन्दा बढि ४१ डिग्री सेल्सियस पुगेको थियो। ’गर्मीका कारण विद्यालयमा विद्यार्थीहरुको संख्या पनि घट्दै गयो,’प्याव्सन र एन प्याव्सनद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ’विद्यार्थीहरुमा गर्मीका कारण विभिन्न रोगको पनि संक्रमण देखिन थालेपछि विद्यालय बन्द गरिएको जानकारी गराउँदछौँ।’ 
यी दुई संगठनका अनुसार धेरै विद्यार्थीहरुमा गर्मिका कारण टाउको दुख्ने,ज्वरो आउने,मुर्छा पर्ने, रिंगटा लाग्ने जस्ता समस्या देखिएका थिए। अधिक गर्मीका कारण जिल्लाका बजार क्षेत्र सुनसान बन्दै जान थालेका छन्। झनपछि झन गर्मी चर्कदै गएपछि वजारमा सर्वसाधारणहरुको संख्या पनि दिनहुँजसो पातलिँदै गएको छ ।

Comments