विश्व वातावरण दिवस बर्दियामा विविध कार्यक्रम गरिदै , कोकोफको पहलमा बर्दियाका दर्जनौ गांउमा सरसफाई कार्य सम्पन्न,जिल्ला वनले गुलरिया बजारमा डस्टविन बितरण गर्ने
पी सी एन,२१जेठ । प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा विश्वभरी मनाउने प्रचलन अनुरुप यसपटक पनि विश्व वातावरण दिवस नेपाल लगायत विश्वभर बिविध कार्यक्रम गरि मनाईने भएको छ ।
यस वर्ष एउटै पृथ्वी सात अरब सपना दिगो उपभोग हाम्रो चाहना भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस २०१५ विश्वभर विविध कार्यक्रमका साथ मनाउने तैयारी भईरहेको छ ।
बर्दियामा पनि विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाईने भएको छ ।
विश्व वातावरण दिवस अर्थात जुन ५को अवसर पारेर शुक्रबार बिहान जिल्ला वन कार्यालय बर्दियाले गुलरिया बजारमा १०वटा डस्टबिन निशुल्क रुपमा बितरण गर्ने भएको छ । जिल्लास्थित सरकारी कार्यालय प्रमुख तथा कर्मचारीहरु र सामुदायिक वनका पदाधिकारी जम्मा भई गुलरिया बजारको चोकचोकमा फोहर संकलन गरि डस्टबिनमा जम्मा गर्ने कार्यक्रम तय भएको जिल्ला वन अधिकृत भरतप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
बिहान ६बजेदेखि ८बजेसम्म गुलरिया बजारको मुख्य चोकहरु सफा गरि डस्टबिन राखिने र सो डस्टबिन संरक्षणको जिम्मा नगरपालिका कार्यालयलाई दिईने जिल्ला वन अधिकृत घिमिरेले बताउनु भयो ।
यस बर्ष सुर्यपटुवा ७ को ओराली बजारमा रहेको जैबिक मार्ग तथा संरक्षित बनक्षेत्र संरक्षण केन्द्र —कोकोफले बिविध कार्यक्रमको आयोजना गरि मनाउन लागेको अध्यक्ष कृष्ण परियारले जानकारी दिनुभयो ।
वातावरण दिवसको पुर्व सन्ध्यामा केन्द्रको पहलमा बिहीबार सानोश्री ,ढोढरी र सुर्यपटुवाका दर्जनौ गांउ तथा सडकहरु सफा गरिएको छ ।
खाता लगायत देशका प्रमुख जैविक मार्गको संरक्षण गरी जनताको दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्यका साथ स्थापना गरिएको संस्था कोकोफले स्थानीय खाता समन्वय समिति ,डल्ला होमस्टे व्यवस्थापन समितिसंग मिलेर सरसफाई,प्रवचन,सम्मान,सांगितिक कार्यकम,रक्तदान र निःशुल्क कान शिविर लगायतका कार्यक्रम गरि विश्व वातावरण दिवस मनाउन लागेको हो ।
जैबिक मार्ग तथा संरक्षित बनक्षेत्र संरक्षण केन्द्र —कोकोफका अध्यक्ष कृष्ण परियारका अनुसार केन्द्रले जेठ २१गते सुर्यपटुवा ,सानोश्री र ढोढरी गाविसका सबै गांउहरुमा सरसफाई ,२२गते खाता समन्वय समितिको कार्यालयमा प्रवचन,सांगितिक कार्यक्रम तथा वन हेरालुहरुलाई सम्मान र २३ गते ओराली बजारमा रक्तदान तथा कान शिविरको आयोजना गर्दैछ ।
खाता क्षेत्रको जैविक तथा सांस्कृतिक बिविधताको संरक्षण , पर्यटन प्रर्वद्धन ,उपभोक्ता समुहहरुको सुशासन तथा संस्थागत बिकास, बन्यजन्तुहरुको चोरी शिकारी र अबैध ब्यापार नियन्त्रणका प्रभावकारी भुमिका खेल्दै आएको केन्द्रले वातावरण संरक्षणका लागि रचनात्मक कार्य पनि गर्दे आईरहेको छ ।
Comments
Post a Comment