पी सी एन
बर्दिया,५ असार । दादुराको संकमणका कारण गुलरिया नगरपालिका वडा नं १२ गोडियनपुर्वामा ५बर्षीया बालिका लक्ष्मी गोडियाको निधन हुनुका साथै सो क्षेत्रका ३१जना बालबालिकामा दादुराको संक्रमण देखापरी महामारीको रुप लिएपछि जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले आज शनिवार दादुरा बिरुद्धको विशेष खोप अभियान संचालन गर्दैछ ।
प्रेस क्लब अफ नेपालसंगको कुराकानीमा जिल्ला स्वास्थ्य प्रमुख बृषबहादुर शाहीका अनुसार भारतसंग सीमा जोडिएको सो क्षेत्रका बालबालिकाहरु पढन , आफन्त भेटघाट गर्न ,उपचार वा अन्य बहानामा भारत गएका बेला वा गांउघरैमा भएका बेला पनि दादुराको खोप प्रति कम चासो दिएकाले दादुराको खोप नलिएका बालबालिकाहरुमा दादुराको महामारी देखापरेपछि विशेष खोप अभियान संचालन गर्न लागिएको हो ।
सामान्यतया कुनै क्षेत्रमा एक महिनामा पांच जना सम्म दादुराको रोगी भेटिनुलाई सामान्य मानिन्छ तर एक हप्तामा ३१जनामा दादुराको संक्रमण भेटिएपछि गुलरिया नगरपालिका वडा नं १२ का गोडियनपुर,मथुरा,रामनगर,प्रयागपुर,टेपरी ९महिना देखि १५बर्ष सम्मका १हजार ६सय बालबालिकाहरुलाई आज शनिवार दादुरा विरुद्धको विशेष खोप अभियान संचालन गरिने रयापिड रेसपोन्स टिमका फोकल पर्सन बालकृष्ण शर्माले जानकारी दिनुभयो ।
खोप अभियानका लागि ८जना भेक्सीनेटर,१५जना महिला स्वास्थ्य स्वयमसेविका र रेपीड रेसपोन्स टिम परिचालन गरिएको फोकल पर्सन शर्माले जानकारी दिनुभयो ।
कुनै ब्यतिmलाई ज्वरो आउनु रातो डाबर वा विमिराहरु आउनु,खोकी लाग्नु वा नाकबाट पातलो सिगान बग्नु वा आंखा रातो हुनुलाई दादुरा भनिन्छ ।
यसबीच जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले आज शनिवार संचालन हुने दादुरा विरुद्धको विशेष खोप अभियानलाई सहयोग पुरयाउन राजनैतिक दल,नागरिक समाज,संचारमाध्यम,वडा नागरिक मञ्च,टोल विकास संस्था र समुदाय सबैलाई अनुरोध गरेको छ ।
Comments
Post a Comment